
अत्तरिया :नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ ले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। शनिबार क्षेत्रीय सभापति बसन्त रोकाया (ललित) ले केन्द्रीय निर्वाचन समितिबाट स्वीकृत कार्यतालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिकाअनुसार गाउँ तथा नगरका वडा अधिवेशन स्थानीय अनुकूलता हेरी असोज ३ र ४ गते सम्पन्न गरिनेछ। त्यस्तै गाउँ तथा पालिका अधिवेशन असोज ७ गते हुनेछ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन, क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख छ। नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने तयारी छ।

क्षेत्रीय सभापति रोकायाले केन्द्रीय निर्वाचन समितिबाट स्वीकृत १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार महाधिवेशनका सबै चरण निर्धारित समयमै सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउँदै संगठनलाई सुदृढ, गतिशील र मर्यादित बनाउन महाधिवेशन महत्वपूर्ण हुने बताए। तोकिएको समयसीमाभित्र आफ्नो जिम्मेवारी पूरा गर्नु सबैको साझा कर्तव्य रहेको उल्लेख गर्दै रोकायाले अधिवेशनका सबै प्रक्रिया सहज र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका छन्।































