
बैतडीको पुरचौडी नगरपालिका–८ लामुनी गाउँमा सोमबार राति पहिरो खस्दा एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने सात परिवार विस्थापित भएका छन्। बस्तीमाथिबाट खसेको ठूलो चट्टानसहितको पहिरोले स्थानीय गणेश जोशीको घरमा क्षति पुर्याएको हो। घरभित्र रहेका पशुचौपायासमेत च्यापिएका छन्।

स्थानीयका अनुसार सोमबार राति करिब ९ बजे पहिरो खसेको थियो। पहिरोको ठूलो आवाज आएपछि घरभित्र रहेका दुई जना भागेर ज्यान जोगाउन सफल भएका थिए। परिवारका अधिकांश सदस्य तीज मनाउन बाहिर गएका बेला घटना भएको स्थानीय पदम जोशीले बताए।
बस्तीको पश्चिमतर्फ दशकौँदेखि पहिरो जाने गरेको स्थानीयले बताएका छन्। सोमबार राति ठूलो चट्टान घरमाथि खसेपछि थप पहिरोको जोखिम बढेको भन्दै टोलका सात परिवार घर छोडेर सुरक्षित स्थानमा पुगेका छन्। उनीहरूले रात त्रिपालमुनि बिताएका थिए।


घटनाको जानकारी पाएपछि मंगलबार बिहान पुरचौडी हाटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली करिब डेढ घण्टाको दूरी पार गर्दै घटनास्थल पुगेको छ। सुरक्षाकर्मीले घरभित्र पुरिएका पशुचौपाया निकाल्ने तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्।
पहिरोका कारण रघुनाथ जोशी, दत्तराम जोशी, बल्देव जोशी, पर्मानन्द जोशी, हिरा जोशी, चन्द्रदेव जोशी, गोबिन्द जोशी र कासी भण्डारीका घरसमेत उच्च जोखिममा परेका छन्।
घटनास्थल पुगेको प्रहरीले घरभन्दा ठूलो आकारको चट्टान खसेर क्षति भएको र अझै ठूलो चट्टान जुनसुकै बेला खस्न सक्ने अवस्था रहेको जनाएको छ। पुरघाट प्रहरी चौकीबाट खटिएका प्रहरी नायब निरीक्षक रुपसिंह साउदले बिहानैदेखि उद्धार तथा सुरक्षाको काममा प्रहरी परिचालन भएको बताए।






























