
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूले आयोजना गरेको तीज विशेष कार्यक्रमबाट संकलित रकम भोटेकोशी बाढीपीडितका लागि सहयोग गरिएको छ।

भदौ २८ र २९ गते सञ्चालन गरिएको कार्यक्रममा कुल ५८ हजार ६९२ रुपैयाँ संकलन भएको थियो। कार्यक्रम सञ्चालनका क्रममा २७ हजार ३० रुपैयाँ खर्च भएको थियो। बाँकी रकममध्ये ३१ हजार ५०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढीपीडितका लागि सहयोग गरिएको हो।
तीज पर्वलाई मनोरञ्जनमा मात्रै सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले कार्यक्रमबाट राहत रकम संकलन गरिएको आर्थिक संकलन समितिका सदस्य अम्बा दत्त जोशीले बताए।


उनका अनुसार विपद्मा परेका परिवारलाई आफ्नो तर्फबाट सकेको सहयोग पुर्याउने उद्देश्यले कार्यक्रममार्फत रकम संकलन गरिएको हो। स्थानीय युवाहरूको पहलमा गरिएको उक्त सहयोगले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना प्रवर्द्धन गरेको आयोजकहरूले बताएका छन्।































