
दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित खर्कबस्तीमा निरन्तर जमिन धसिँदा बस्ती नै विस्थापित भएको छ। जमिन धसिएर घरहरू चर्किन थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिए।

महाकाली नदी किनार नजिक रहेको बस्तीका अधिकांश घर बस्न नमिल्ने भएपछि तत्कालका लागि सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। उपाध्यक्ष कुँवरका अनुसार १८ वटा घर पूर्णरूपमा चर्किएका छन् भने १० वटा घर भत्किएका छन्। अन्य घरसमेत जोखिममा परेका छन्।
जमिन धसिने क्रम अझै नरोकिएकाले प्रभावित परिवारलाई गाउँपालिकाले टेन्टको व्यवस्था गरी सुरक्षित स्थानमा राखेको छ। दुई–तीन घरबाट अन्नपातसमेत निकाल्न नसकिएको हुँदा खाद्यान्नको समस्या देखिएको कुँवरले बताए।


घर पूर्णरूपमा क्षति भएर बस्न नमिल्ने अवस्था आएपछि राहत, पुनर्निर्माण तथा बस्ती व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए।
गाउँपालिकाले क्षतिको विवरण तथा प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ।






























