
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा राष्ट्रिय विज्ञान दिवसको अवसरमा जिल्लास्तरीय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सत्यवती एकेडेमी अत्तरियाले प्रथम स्थान हासिल गरेको छ ।

दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको आयोजनामा बिहीबार सम्पन्न प्रतियोगितामा कैलालीका विभिन्न विद्यालयका विद्यार्थीले निर्माण गरेका विज्ञान तथा गणितसँग सम्बन्धित सामग्री, उपकरण तथा नमुना प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सत्यवती एकेडेमी अत्तरिया प्रथम, सैनिक आवासीय महाविद्यालय तेघरी द्वितीय, एरिस्टो बोर्डिङ स्कुल धनगढी तृतीय र पञ्चोदय माध्यमिक विद्यालय धनगढी चौथो भएका हुन ।

प्रदर्शनीमा गोदावरी नगरपालिकाका सैनिक आवासीय महाविद्यालय, एभरेस्ट एकेडेमी, सरस्वती माध्यमिक विद्यालय, सत्यवती एकेडेमी, दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय र दुर्गा भवानी माध्यमिक विद्यालयका विद्यार्थी सहभागी थिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाबाट एरिस्टो इङ्लिस स्कुल, नाष्ट माध्यमिक विद्यालय, पञ्चोदय माध्यमिक विद्यालय, ऐश्वर्य विद्या निकेतन र धनगढी मोडल स्कुल तथा गौरीगंगा नगरपालिकाबाट जुपिटर एकेडेमी र जनप्रिय माध्यमिक विद्यालयलगायतका विद्यालयले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रदर्शनीका क्रममा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले विद्यालयको आर्थिक सहयोगमा निर्माण गरेको विद्युतीय मोटरसाइकलसमेत प्रदर्शन गरिएको थियो ।

विद्यार्थीको सिर्जनशीलता, प्राविधिक ज्ञान र प्रयोगात्मक क्षमताको उदाहरणका रूपमा प्रस्तुत गरिएको उक्त विद्युतीय मोटरसाइकलले प्रदर्शनीमा विशेष आकर्षण थपेको थियो ।
कार्यक्रमकै अवसरमा विद्यालयमा पठनपाठनलाई सहज बनाउन सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले उपलब्ध गराएको रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले विज्ञान तथा गणित प्रदर्शनीजस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
जिल्लास्तरमा रहेका विज्ञान प्रतिभालाई एउटै मञ्चमा ल्याएर उनीहरूको क्षमता प्रस्फुटन गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनले बताए । विद्यालयलाई थप व्यवस्थित र नमुना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न नमुना कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।
अध्यक्ष भट्टराईले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य विद्यालयले लिएको बताए ।






























