
अत्तरिया: राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा कैलालीको गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षक, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा खेलाडीलाई सम्मान गरेको छ।

‘ज्ञान, विज्ञान, सीप, उद्यम, मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम नगर प्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर उपप्रमुख शारदा रोकाया, शिक्षाविद् डा. डम्बरबहादुर पाल, शिक्षा शाखा प्रमुख हरिश पन्त, सेनानी खिलबहादुर राना, वडा अध्यक्षहरू, पालिका प्रतिनिधि तथा नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा नगरपालिकाभित्र यस वर्ष अवकाश प्राप्त शिक्षकहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षा सँगसँगै खेलकुद क्षेत्रमा जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पदक जित्न सफल खेलाडीलाई बधाईसहित सम्मान गरिएको थियो।

नगरस्तरीय कक्षा ८ को परीक्षामा ४ जीपीए हासिल गर्ने १३ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो। साथै, पालिकाभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। उनीहरूको शैक्षिक योगदान र विद्यार्थीको सिकाइ उपलब्धिमा पुर्याएको भूमिकाको कदर गर्दै सम्मान गरिएको हो।


कार्यक्रममा कक्षा ८ र १० मा सामुदायिक तथा संस्थागत विद्यालयमा डिजिटल शिक्षासम्बन्धी कार्यक्रमको ब्यानर अनावरण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो। यस वर्ष गोदावरी नगरपालिका क्षेत्रका ९ जना शिक्षक अवकाश प्राप्त भएका छन् भने एक जना शिक्षकको उपचारका क्रममा निधन भएको जनाइएको छ।

कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्टले शिक्षा र स्वास्थ्यलाई नगरपालिकाको विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाइरहेको बताए। उनले गुणस्तरीय शिक्षा, डिजिटल प्रविधिको प्रयोग, विद्यार्थीको प्रतिभा विकास तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै गोदावरी नगरपालिकालाई शिक्षा र स्वास्थ्य क्षेत्रमा थप सक्षम, व्यवस्थित र नमुना बनाउने उद्देश्यका साथ पालिका निरन्तर लागिपरेको बताए।
































