भोटेकोशी बाढीको त्रासदी : माथिल्लो त्रिशूली–१ को सुरुङबाट एकैदिन १३ शव फेला

Image
Nisarga Hospital

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कामदारमध्ये १३ जनाको शव शुक्रबार फेला परेको छ।

CP Hospital Dhangadhi

नेपाली सेनाका अनुसार खोजी तथा उद्धारका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट एकैदिन १३ वटा शव निकालिएको हो। बाढीका कारण आयोजनाको निर्माणाधीन संरचना तथा सुरुङमा ठूलो क्षति पुगेपछि नेपाली सेना, आयोजना प्रतिनिधि तथा अन्य उद्धार टोलीले निरन्तर खोजी कार्य गरिरहेका छन्।

खोजीका क्रममा सुरुङभित्र ढलानका लागि तयार गरिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शुक्रबार बिहान ६ वटा शव फेला परेका थिए। त्यसपछि खोजी कार्यलाई निरन्तरता दिँदा थप ७ वटा शव भेटिएका हुन्।

nawajiwan

सेनाका अनुसार सुरुङभित्रबाट शव निकाल्न ग्रिन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरण प्रयोग गरिएको थियो। कठिन र जोखिमपूर्ण अवस्थामा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई अघि बढाएको जनाएको छ।

Attariya Hospital

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका थिए। आयोजनाका अनुसार बाढी आउनुअघि त्यहाँ १ हजार ४३३ जना कामदार कार्यरत थिए। तीमध्ये ९३६ जना सम्पर्कमा आएका छन् भने ४९२ जना अझै सम्पर्कविहीन रहेको नेपाली सेनाले जनाएको छ।

सम्पर्कविहीन कामदारको खोजीका लागि आयोजनाका सुरुङ तथा विभिन्न संरचनामा उद्धार टोली परिचालन गरिएको छ। बाढीले निर्माणस्थल र सुरुङमा पुर्‍याएको ठूलो क्षतिका कारण खोजी तथा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।

यसैबीच त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। पछिल्लो घटनाले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा निर्माणस्थलमा फसेका कामदारको खोजीलाई थप गम्भीर र चुनौतीपूर्ण बनाएको छ।