
आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै छ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ।

संविधान जारी भएको दिनलाई नेपालको राजनीतिक तथा संवैधानिक इतिहासमा महत्वपूर्ण दिनका रूपमा लिइन्छ। लामो राजनीतिक संक्रमण, विभिन्न आन्दोलन तथा संविधान निर्माण प्रक्रियापछि संविधानसभाबाट नेपालको वर्तमान संविधान जारी भएको थियो। संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा संस्थागत गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ।
दिवसको अवसरमा सरकारले विशेष समारोह आयोजना गर्ने गरेको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेतासहित उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने गर्दछ।


संविधान दिवसका अवसरमा देशभर सार्वजनिक कार्यक्रम, शुभकामना आदान–प्रदान, दीप प्रज्वलन, अन्तरक्रिया, गोष्ठी तथा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिन्छ। प्रदेश सरकार र स्थानीय तहले पनि आफ्ना क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै दिवस मनाउने गरेका छन्।
त्यस्तै, गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था तथा सामाजिक संघ–संगठनले समेत संविधान दिवसको अवसरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने गरेका छन्। दिवसका अवसरमा राजनीतिक दलका शीर्ष नेताहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता र समृद्धिका लागि प्रतिबद्धता व्यक्त गर्ने गरेका छन्।
संविधान दिवस केवल औपचारिक उत्सव मात्र नभई संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार, कर्तव्य, समानता, स्वतन्त्रता, सामाजिक न्याय र सुशासनका विषयमा समीक्षा तथा प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा समेत लिइन्छ। आज देशभर विभिन्न कार्यक्रममार्फत संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गरिँदै छ।






























