
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वडा अधिवेशनलाई लिएर पार्टीभित्र मतभेद सतहमा आएको छ। जिल्ला सभापति भीमबहादुर साउँदले जिल्ला कार्यसमितिको निर्णयअनुसार आइतबार वडा अधिवेशन गर्ने सूचना जारी गरेपछि उपसभापति डिल्लीराज जोशीले काउन्टर विज्ञप्ति निकालेका छन्।

लगातार भएका नेताहरूको बैठकबाट सहमति जुट्न नसकेपछि सभापति साउँदले अधिवेशन प्रक्रिया अघि बढाएका हुन्। डडेलधुराका सातवटै स्थानीय तहका ५२ वडामा अधिवेशन गर्ने तयारी रहेको जनाइएको छ।

यसैबीच उपसभापति जोशीको अध्यक्षतामा देउवा पक्षीय नेताहरूको छुट्टै बैठक बसेको थियो। बैठकपछि जारी विज्ञप्तिमा आइतबार हुने वडा अधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरिएको छ।

जोशीले कांग्रेस कमजोर हुनु लोकतन्त्रका लागि समेत असर पर्ने भन्दै पार्टीलाई एकताबद्ध बनाउन वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्। साथै, देउवा र विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाबीच आपसी समझदारी कायम गर्न पनि उनले आह्वान गरेका छन्।






























