
जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनमा उक्त अवधिमा वर्षाको गतिविधि बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागका अनुसार उत्तर अण्डमान सागर तथा आसपासमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भागमा पुगेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ अर्थात् बलियो न्यूनचापीय क्षेत्रमा परिणत भएको छ। प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने विभागले जनाएको छ। मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्नसक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले पनि सोमबार सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले अत्यावश्यक अवस्था बाहेक उक्त अवधिमा टाढाको यात्रा नगर्न तथा विशेषगरी रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। विभागले मौसमसम्बन्धी थप सूचना नियमित रूपमा हेर्न र जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
































