दशैं–तिहार लक्षित धनगढी बजार अनुगमन : ढुसी लागेको दालदेखि घाममा सुकाइएका खाद्य वस्तुसम्म भेटिए

Image
Nisarga Hospital

धनगढीमा चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको गुणस्तर, मूल्य, सरसफाइ, भण्डारण तथा व्यापारिक गतिविधिको निरीक्षण गर्न संयुक्त बजार अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणसँगै बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्ने उद्देश्यले विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि सम्मिलित टोलीले धनगढीका किराना तथा होलसेल पसलमा अनुगमन गरेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालय कैलाली, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ कैलाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि सहभागी टोलीले चारवटा व्यवसायमा निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा महावीर किराना होलसेल स्टोर, नवल जनरल स्टोर एण्ड सप्लायर्स, जय दुर्गे एग्रो प्याकेजिङ र श्री राघव इम्पेक्समा खाद्य सामग्रीको अवस्था, मूल्य, सरसफाइ तथा भण्डारण प्रणालीको निरीक्षण गरिएको थियो।

nawajiwan

महावीर किराना होलसेल स्टोरको गोदामबाहिर फर्सीको बीउ र बदाम घाममा सुकाउँदै गरेको अवस्थामा भेटिएको थियो। यस्तै, श्री राघव इम्पेक्समा अरहरको दाल ढुसी लागेको अवस्थामा फेला परेको थियो। बिग्रिएको दाल व्यवसायी स्वयंले नष्ट गरेका थिए।

अनुगमन टोलीले खाद्य सामग्री सुरक्षित र व्यवस्थित रूपमा भण्डारण गर्न, गोदाम तथा बिक्रीस्थलमा सरसफाइ कायम गर्न र म्याद गुज्रिएका तथा बिग्रिएका सामग्री बिक्री नगर्न व्यवसायीलाई निर्देशन तथा सुझाव दिएको छ। त्यस्ता सामग्रीलाई अन्य सामानबाट छुट्टै राखेर सुरक्षित रूपमा नष्ट गर्न पनि टोलीले आग्रह गरेको छ।

Attariya Hospital

उद्योग वाणिज्य संघ कैलालीका कोषाध्यक्ष तिलकबहादुर बोहराले अनुगमन सभ्य र व्यवस्थित रूपमा भएको बताए। उनले ड्यामेज तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न व्यवसायीलाई सचेत गराउँदै गलत क्रियाकलाप गर्ने व्यापारीलाई संरक्षण गर्न नसकिने स्पष्ट पारे।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख तारामान रावलले बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्ने, उपभोक्ताबाट अनुचित मूल्य नलिने र गैरकानुनी व्यापारिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको बताए।

दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई थप तीव्रता दिइएको रावलले बताए। उनका अनुसार व्यवसायीलाई म्याद गुज्रिएका वस्तु राख्न छुट्टै ‘डेट एक्सपायरी जोन’ बनाउन तथा खाद्य सामग्रीको उचित भण्डारण गर्न सुझाव दिइएको छ। नियमविपरीत गतिविधि भेटिए उपभोक्ता संरक्षणसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

चाडपर्वका बेला खाद्य तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै गुणस्तरीय वस्तुको बिक्री वितरण सुनिश्चित गर्नुपर्ने देखिन्छ।