नेपाली कांग्रेसको पालिका अधिवेशन आज, देशभर नयाँ नेतृत्व चयन हुँदै

Image
Nisarga Hospital

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको सांगठनिक संरचना निर्माण तथा नयाँ नेतृत्व चयन गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो।

CP Hospital Dhangadhi

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ। बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको छ।

nawajiwan
Attariya Hospital

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार रसुवाको अवस्था र स्थानीय परिस्थितिलाई मध्यनजर गर्दै अधिवेशनको नयाँ समय तय गरिनेछ।

नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ।

पालिका कार्यसमितिको कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान रहेको छ। पालिका तहको नेतृत्व चयनपछि कांग्रेसको सांगठनिक संरचना थप व्यवस्थित हुँदै जाने अपेक्षा गरिएको छ। अधिवेशनका क्रममा सहमति कायम हुन नसकेका स्थानमा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिनेछ।