
सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ। जिल्लामा मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा सम्भावित क्षति रोकथामका लागि सुरक्षा निकायले सचेतना अभियान सञ्चालन गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वार्टर र नेपाल प्रहरीले मंगलबारदेखि जिल्लाका जोखिमयुक्त क्षेत्र दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायत स्थानमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराइरहेका छन्। विद्यालय तथा सार्वजनिक स्थलमा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरी भारी वर्षाका बेला अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्लाका सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। स्थानीय विपद् व्यवस्थापन समितिको अवस्था तथा उपलब्ध स्रोतसाधनबारे जानकारी गराउनसमेत अनुरोध गरिएको छ।


प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार असोज ८ देखि १२ गतेसम्म वर्षा हुने मौसम पूर्वानुमान सार्वजनिक भएकाले जिल्लाका सबै स्थानीय तह र सुरक्षा निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ। उनले विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहलाई समेत तयारी अवस्थामा रहन पत्राचार गरिएको जानकारी दिए।
यता, जिल्लास्थित सुरक्षा निकायले सम्भावित विपद्को समयमा आवश्यक जनशक्ति परिचालन गर्न स्रोतसाधनको व्यवस्था गरिदिन सम्बन्धित निकाय तथा स्थानीय तहसँग आग्रह गरेको छ। काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय तह रहेका छन्। सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको पहिचान, जनचेतना अभिवृद्धि र आपत्कालीन उद्धारका लागि तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ।






























