
आगामी शुक्रबारदेखि लगातार तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएपछि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यका लागि सुरक्षा तथा उद्धार संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।

जल तथा मौसम विज्ञान कार्यालय, अत्तरिया कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार सम्भावित वर्षाका कारण बझाङ, बाजुरा, दार्चुला र अछामलाई उच्च जोखिममा राख्दै ‘एलर्ट’ जारी गरिएको छ। चुरे क्षेत्रमा समेत भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित बाढी, पहिरो तथा सडक अवरोधबाट हुने क्षति न्यूनीकरणका लागि नागरिक तहसम्म सूचना प्रवाह गरिएको बताए। सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न स्काभेटर तयारी अवस्थामा राखिएको र करिब दुई महिनासम्म पुग्ने खाद्यान्नको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए।


बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गृह मन्त्रालयसँग समन्वय गरी पूर्वतयारीबारे छलफल भइरहेको र जिल्लालाई उच्च जोखिममा राखिएकाले सोहीअनुसार प्रतिकार्य योजना अघि बढाइएको बताए।
यसैबीच सशस्त्र प्रहरी बल श्री नं. ७ वैद्यनाथ बाहिनी अत्तरियाले पनि उद्धार तथा राहतका लागि तयारी तीव्र पारेको छ। वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयका अनुसार सुदूरपश्चिममा तैनाथ सशस्त्र प्रहरीलाई बिदा नदिइएको तथा विपद् प्रतिकार्यका लागि १४ वटा अस्थायी विपद् सुरक्षा बेस तयारी अवस्थामा राखिएका छन्।
बङ्गालको खाडी आसपास विकसित न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले नेपालमा त्यसको प्रभाव पर्ने मौसमविद्हरूले बताएका छन्। सम्भावित बाढी, पहिरो र डुबानलाई मध्यनजर गर्दै नेपाली सेनाले समेत उद्धार तथा राहतका लागि सुदूरपश्चिम पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ।






























