
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबारदेखि असोज १२ गतेसम्म टाढा तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए मौसम तथा सडकको अवस्था बुझेर मात्रै अघि बढ्न अनुरोध गरेको हो।
महासंघले आफ्ना सदस्य तथा यातायात व्यवसायीलाई पनि सवारी सञ्चालन गर्नुअघि सम्बन्धित सडकको अवस्था, मौसमको पूर्वानुमान र सम्भावित जोखिमबारे अनिवार्य जानकारी लिन आग्रह गरेको छ। विशेषगरी रातिको समयमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले यात्रामा सावधानी अपनाउन भनिएको छ।


यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै लामो तथा रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको थियो। प्राधिकरणको अनुरोधअनुसार महासंघले पनि आफ्ना सदस्य र यात्रुलाई सचेत गराएको जनाएको छ।
यस साता देशका विभिन्न क्षेत्रमा अविरल तथा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि बाढी, पहिरो र डुबानको जोखिम बढ्ने देखिएको छ। यस्तो अवस्थामा यात्रु तथा चालकले मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।






























