असोज ९ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान, कैलालीमा विपद् प्रतिकार्य तयारी तीव्र

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि १२ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिन जारी गरेपछि कैलाली जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी तीव्र पारेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

बैठकले मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा लिएर आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीय तह, सुरक्षा निकाय र जिल्लावासीलाई आग्रह गर्ने निर्णय गरेको छ।

कर्णाली नदीको वेनीघाट, मोहना नदीलगायत प्रमुख नदीको जलस्तरसम्बन्धी सूचना नियमित रूपमा लिएर जोखिमयुक्त नदी किनार तथा बस्तीमा समयमै जानकारी गराउने व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। जोखिम देखिएमा स्थानीय तह, सुरक्षा निकाय र सञ्चारमाध्यममार्फत सुरक्षित स्थानमा स्थानान्तरणका लागि सूचना प्रवाह गरिनेछ।

nawajiwan

सम्भावित बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यान दिँदै सडक डिभिजन, स्थानीय तह, हेभी इक्विपमेन्ट तथा ट्राफिक प्रहरीलाई डोजर, एक्साभेटर र लोडर तयारी अवस्थामा राख्न भनिएको छ। सुरक्षा निकायलाई रबर बोट, मोटरबोटलगायत उद्धार सामग्रीसमेत तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।

Attariya Hospital

बैठकले टीकापुर नगरपालिका–५ लगायत कर्णाली नदी कटान भइरहेका क्षेत्रमा अस्थायी कटान रोकथाम तथा अन्य जोखिमयुक्त क्षेत्रमा जैविक तटबन्धका लागि समन्वय गर्ने निर्णय गरेको छ। साथै प्रत्येक स्थानीय तहबाट नेपाल रेडक्रस सोसाइटी कैलालीलाई एक लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरिएको छ।

यसैगरी भोटेकोशी बाढीबाट कैलालीमा रहेका मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई रेडक्रस, सहयोगी संस्था र व्यक्तिको समन्वयमा आवश्यक राहत सामग्री वितरण गर्ने निर्णयसमेत गरिएको छ। बैठकले मनसुन प्रतिकार्य योजना, २०८३ अनुसार उद्धार, राहत र सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।