बङ्गालको खाडीको शक्तिशाली प्रणाली नेपालतर्फ, असोज ८ देखि १२ सम्म भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यून चापीय प्रणाली भारतका ओडिसा, पश्चिम बंगाल र बिहारलगायत क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। उक्त प्रणालीको प्रभावले आज रातिदेखि नेपालका धेरै स्थानमा मुसलधारे वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार बङ्गालको खाडीबाट विकसित प्रणाली नेपालको वायुमण्डलमा प्रवेश गरिसकेको छ। यसको प्रभावले असोज ८ देखि १२ गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा लगातार वर्षा तथा केही क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना छ।

त्यस्तै, मधेश र कर्णाली प्रदेशमा पनि आगामी दुईदेखि तीन दिनसम्म मुसलधारे वर्षाको सम्भावना रहेको जनाइएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलानालामा जलस्तर तीव्र रूपमा बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा भूक्षयको जोखिम बढ्ने र तराईका होचा तथा डुबान प्रभावित क्षेत्रमा पानी जम्न सक्ने चेतावनी दिइएको छ।

nawajiwan
Attariya Hospital

उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले मौसम प्रतिकूल हुने अवधिमा पदयात्रा तथा पर्वतारोहण नगर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा, विशेषगरी रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ। सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।

यता, कृषि मन्त्रालयले पनि किसानलाई पाक्न लागेको धान तत्काल नकाट्न र मौसमको अवस्था हेरेर आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै, नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वतयारी अपनाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।