
देशका विभिन्न क्षेत्रमा भारी वर्षासँगै बाढी र पहिरोले जनजीवन प्रभावित भइरहेका बेला असोज १० गते मध्यनेपालदेखि पश्चिमतर्फ वर्षाको जोखिम थप बढ्ने पूर्वानुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तरअनुसार जिल्लागत रूपमा सतर्कता बढाउँदै रेड अलर्ट विस्तार गरेको छ।

प्राधिकरणले भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो तथा रातिको यात्रा नगर्न आग्रह गरेको छ। सडक विभागले समेत जोखिमयुक्त सडक, पहिरो सम्भावित क्षेत्र र खोला–नालामा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
जोखिमको अवस्थाअनुसार यातायात सञ्चालनमा कडाइ गरिएको छ। रातो संकेत भएका जिल्लामा सवारी साधन पूर्ण रूपमा बन्द गर्ने व्यवस्था गरिएको छ भने सुन्तला संकेत भएका जिल्लामा रातिको समयमा आवागमन बन्द गरिनेछ। दिउँसोको अवस्थामा भने स्थानीय जोखिम मूल्याङ्कन गरी जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले आवश्यक निर्णय गर्नेछ।


पहेँलो संकेत भएका जिल्लामा भने उच्च सतर्कता अपनाउन भनिएको छ। नेपाल प्रहरीले पनि सम्भावित विपद्लाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा जनशक्ति, उद्धार सामग्री र उपकरण तयारी अवस्थामा राखेको जनाएको छ।
लगातारको वर्षाका कारण कमजोर सडक, नदी तथा खोलानाला आसपास थप जोखिम हुनसक्ने भएकाले स्थानीय प्रशासनको सूचना पालना गर्न र मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।






























