
देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव कायम रहेकाले आज विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ।
यस्तै, बागमती प्रदेशका केही तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने अनुमान गरिएको छ। यद्यपि यसको प्रभावका कारण नेपालमा वर्षाको गतिविधि सक्रिय रहने देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश भूभागमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा समेत वर्षा हुनसक्ने जनाइएको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका अधिकांश स्थानमा तथा मधेस, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि मौसममा उल्लेख्य सुधार नआउने पूर्वानुमान छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बदली रहनेछ। यी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
रातिको समयमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा बागमतीको तराईका धेरै स्थानमा वर्षाको सम्भावना छ। महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाएको छ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीसमेत चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो र तराईका होचा भूभागमा डुबानको जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधिमा सावधानी अपनाउनुपर्ने देखिएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्र यात्रा तथा अन्य गतिविधि गर्न आग्रह गरिएको छ।
































