एक साताभित्र होर्मुज स्ट्रेट खोल्ने इरानको प्रस्ताव, निर्णय अमेरिकाको हातमा

Image
Nisarga Hospital

इरानले अमेरिकासमक्ष एक साताभित्र होर्मुज स्ट्रेट पुनः खोल्न सकिने गरी सम्झौताको प्रस्ताव अघि सारेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आवश्यक सर्त पूरा भएमा जलमार्ग खोल्न सकिने बताएका हुन्।

CP Hospital Dhangadhi

अराघचीका अनुसार इरानले प्रस्ताव कतारमार्फत अमेरिकी पक्षसमक्ष पठाएको छ। प्रस्तावमा उल्लेखित सर्तहरू नयाँ नभई गत जुनमा दुई देशबीच भएको समझदारी पत्र (एमओयू) मै समेटिएको उनको भनाइ छ। यद्यपि उनले ती सर्तहरूको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय अब अमेरिकाको हातमा रहेको उनले बताएका छन्।

यसैबीच एक अमेरिकी अधिकारीले मध्यस्थकर्तामार्फत अमेरिका र इरानबीच सकारात्मक छलफल भइरहेको बताएका छन्। छलफलमा इरानको आणविक कार्यक्रमलगायत विषय समेटिएको जनाइएको छ।

nawajiwan
Attariya Hospital

गत जुन १८ मा अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारी पत्रमा युद्धविराम, इरानले आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता, अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य तथा इरानमाथिका आर्थिक प्रतिबन्धमा छुट दिने विषय समावेश थिए।

होर्मुज स्ट्रेट विश्वकै महत्वपूर्ण ऊर्जा तथा व्यापारिक जलमार्गमध्ये एक हो। यसको आवतजावत प्रभावित हुँदा अन्तर्राष्ट्रिय तेल तथा ग्यास आपूर्तिमा असर पर्न सक्ने भएकाले इरानको पछिल्लो प्रस्तावलाई क्षेत्रीय तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ।

अराघचीले सम्झौता कार्यान्वयनका लागि अमेरिकाले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। उनका अनुसार निर्धारित सर्त पूरा भएमा एक साताभित्रै जलमार्गमा सामान्य समुद्री आवतजावत पुनःस्थापित गर्न सकिनेछ।