
चिनियाँ राष्ट्रपति सी जिनपिङ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएनन्। सेप्टेम्बर २३ मा अमेरिका पुगेका सीले न्यूयोर्क जानुको सट्टा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तालाई प्राथमिकता दिए। चीनका तर्फबाट उपराष्ट्रपति हान झेङले महासभामा प्रतिनिधित्व गरिरहेका छन्।

चिनियाँ विदेश मन्त्रालयका अनुसार हानले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’को पाँचौँ वार्षिकोत्सवका अवसरमा हुने उच्चस्तरीय संवादमा सहभागी हुनुका साथै संयुक्त राष्ट्रसंघका महासचिव र विभिन्न देशका नेतासँग भेटवार्ता गर्नेछन्।
सीको महासभा अनुपस्थिति भने चीनले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय व्यवस्थाको केन्द्रका रूपमा प्रस्तुत गर्दै आएको नीतिसँग जोडेर विश्लेषण गरिएको छ। सीले सन् २०१५ मा महासभाको ७०औँ वार्षिकोत्सवका अवसरमा न्यूयोर्क पुगेर सम्बोधन गरेका थिए। त्यसपछि उनले २०२१ मा भिडियोमार्फत महासभालाई सम्बोधन गरे पनि व्यक्तिगत रूपमा सहभागी भएका छैनन्।


यसपटक सीको अमेरिका भ्रमण मुख्यतः ट्रम्पसँगको द्विपक्षीय भेटवार्तामा केन्द्रित रह्यो। विश्लेषकहरूले महासभामा अनुपस्थितिलाई चीन–अमेरिका सम्बन्ध, कूटनीतिक प्राथमिकता र संयुक्त राष्ट्रसंघको प्रभावबारे उठिरहेका बहससँग जोडेर हेरेका छन्।
पछिल्ला वर्षमा सुरक्षा परिषद्का स्थायी सदस्य अमेरिका, चीन र रुसबीच विभिन्न अन्तर्राष्ट्रिय संकटमा मतभेद बढ्दै गएको छ। युक्रेन, गाजा, इरानलगायत विषयमा देखिएको असहमतिले संयुक्त राष्ट्रसंघको निर्णय क्षमता र प्रभावबारे बहस थपिएको छ। यद्यपि यसै महासभामा करिब १३० राष्ट्रका राष्ट्राध्यक्ष सहभागी भइरहेका छन्।
बीबीसी हिन्दीबाट






























