
मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ। साथै देशभर मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर अधिकांश भूभागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा समेत वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


सुदूरपश्चिमका तराई भूभागका धेरै स्थानमा, लुम्बिनीका केही तथा बागमती र गण्डकीका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी र मधेसका तराई भूभागका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना छ।
सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति पनि सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका पहाडी–हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।






























