
भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ। यसअघि असोज ११ गते राति १२ बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म बाँध खोलेर सिल्ट सफा गर्ने सूचना जारी गरिएको थियो।

तर, सुदूरपश्चिममा भइरहेको निरन्तर वर्षासँगै महाकाली नदीको जलस्तर बढेपछि जोखिमलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको हो। धारचुलाका उपजिलाधिकारी आशीष जोशीले प्रतिकूल मौसम र महाकालीको उच्च जलस्तरका कारण बाँध खोल्दा नदीको सतह खतरा तहभन्दा माथि पुग्न सक्ने जोखिम रहेको जनाएका छन्।

शनिबार साँझ धारचुलामा महाकालीको जलस्तर खतरा तहभन्दा करिब १.४० मिटर मात्रै तल रहेको जनाइएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार धौलीगंगा पावर स्टेशनले तत्काल बाँध नखोल्ने र नयाँ मिति तय गर्नुअघि पुनः सूचना जारी गर्नेछ।































