
कञ्चनपुर: लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डीएसपी टेकबहादुर रावतका अनुसार महाकालीमा पानीको बहाव १ लाख ७५ हजार ७०० क्युसेक पुगेको छ।

बहाव बढेपछि भारतको शारदा ब्यारेज (बनवासा पुल) मा भारतीय पक्षले चारपाङ्ग्रे तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। हाल मोटरसाइकललगायत साना सवारीसाधनलाई मात्रै आवागमन गर्न दिइएको छ। महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा ठूला सवारीसाधन रोक्ने गरिएको छ।

दार्चुला, बैतडी र डडेल्धुरासहित भारतीय क्षेत्रमा भइरहेको वर्षाका कारण नदीको बहाव थप बढिरहेको प्रहरीले जनाएको छ। तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

यसैबीच, भारी वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरबाट दुई दिनदेखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। महाकाली बहुउद्देश्यीय यातायात कम्पनीका अध्यक्ष नवीन भट्टका अनुसार काठमाडौं, पोखरालगायतका रुटमा यात्रुवाहक बस सञ्चालन भएका छैनन्। धनगढी–महेन्द्रनगरतर्फ छोटो दूरीका सवारी भने चलिरहेका छन्।






























