
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठन हुँदै श्रमिक आन्दोलन र सामाजिक सेवामा सक्रिय नवीन रावलले नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि कैलाली–५ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका रावलले लामो समयदेखि कांग्रेसको संगठन निर्माण, युवाको सहभागिता तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल तरुण दल कैलालीका उपाध्यक्षसमेत भइसकेका छन्।
राजनीतिकसँगै श्रमिक क्षेत्रमा पनि रावलको सक्रियता उत्तिकै छ। उनी नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका कार्यसमिति सदस्य हुन्। श्रमिकका हक, अधिकार र उनीहरूको सामाजिक सुरक्षाका विषयमा आवाज उठाउँदै आएका रावलले महाधिवेशन प्रतिनिधिका रूपमा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्। “श्रमजीवीको आवाज कांग्रेसको नेतृत्वसम्म पुर्याउँछु,”रावलले भने,”श्रमजीवीकै प्रतिनिधित्व गरेर कांग्रेसको महाधिवेशन प्रतिनिधिमा अघि सरेको छु ।”

युवा व्यवसायीका रूपमा समेत परिचित रावल सामाजिक गतिविधिमा पनि सक्रिय छन्। विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध हुँदै सामाजिक सेवाका गतिविधिमा सहभागी हुँदै आएका उनले आवश्यक पर्दा सहयोग र सहकार्यका लागि अग्रसर हुने युवाका रूपमा आफ्नो पहिचान बनाएका छन्।
रावलको सामाजिक सक्रियताको एउटा उल्लेखनीय पक्ष कोरोना महामारीको समयसँग पनि जोडिएको छ। कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला भारतबाट स्वदेश फर्किएका नेपालीहरूलाई सहयोग गर्ने अभियानमा उनी सक्रिय थिए।

त्यतिबेला कैलालीको भन्सार क्षेत्रमा भारतबाट फर्किएका नेपालीका लागि भोजन तथा यातायात व्यवस्थापनमा रावलले सक्रिय भूमिका निर्वाह गरेका थिए। महामारीको कठिन परिस्थितिमा स्वदेश फर्किएका नागरिकलाई सहज रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने कार्यमा उनको सहभागिता रहेको थियो।
राजनीति, श्रमिक संगठन र सामाजिक सेवाको अनुभवलाई आधार बनाउँदै रावलले कांग्रेसको आसन्न महाधिवेशनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्।
युवा पुस्ताको सहभागिता, श्रमिक वर्गको प्रतिनिधित्व र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर कांग्रेसको संगठनमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने लक्ष्यसहित आफूले उम्मेदवारी घोषणा गरेको रावलको भनाइ छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेसँगै रावलको अभियान पनि अघि बढेको छ। विद्यार्थी राजनीतिदेखि तरुण दल, ट्रेड युनियन र सामाजिक क्षेत्रमा जोडिएको उनको अनुभवले महाधिवेशन प्रतिनिधिको उम्मेदवारीलाई थप चासोको विषय बनाएको धनगढीको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।






























