
केही दिनदेखि सुदूरपश्चिममा सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै गएपछि बाढी, डुबान तथा अन्य मौसमी जोखिमसमेत घट्दै गएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ। पछिल्ला दिनमा निरन्तर वर्षा भए पनि शनिबार रातिसम्म प्रदेशका विभिन्न स्थानमा सामान्यदेखि हल्का वर्षा मात्र भइरहेको छ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहका अनुसार आइतबार साँझसम्म सुदूरपश्चिमका केही स्थानमा सामान्य वर्षा हुने सम्भावना छ। आइतबार राति र सोमबार बिहानसम्म मनसुनको प्रभाव केही देखिए पनि त्यसपछि क्रमशः कमजोर हुँदै जाने उनले बताए।
पछिल्लो वर्षाका क्रममा सुदूरपश्चिमका पहाडी जिल्लामा ६० मिलिमिटरभन्दा बढी तथा तराईका जिल्लामा ७० मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले वर्षाको मात्रा र तीव्रता घट्दै गएसँगै नदी तथा खोलानालामा पानीको बहावसमेत नियन्त्रणमा रहेको मौसम कार्यालयले जनाएको छ। जलस्तरसमेत चेतावनी तहभन्दा तल रहेको बताइएको छ।

मौसम पूर्णरूपमा सफा भइसकेको अवस्था भने नरहेकाले केही स्थानमा हल्का तथा सामान्य वर्षा हुनसक्ने कार्यालयको भनाइ छ। तर, अघिल्ला दिनमा जस्तो ठूलो वर्षा हुने सम्भावना नरहेको प्रमुख शाहले बताए। यससँगै बाढी तथा डुबानको तत्काल ठूलो जोखिम नरहेको मौसम कार्यालयले जनाएको छ।

यद्यपि, पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने सम्भावना भने पूर्णरूपमा टरिसकेको छैन। त्यसैले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
निरन्तर वर्षाका कारण केही दिनयता सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लाको जनजीवन प्रभावित हुनुका साथै सडक तथा यातायात सेवामा समेत असर परेको थियो। अब वर्षाको तीव्रता घट्दै गएसँगै जनजीवन क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।
मौसम कार्यालयले तत्काल ठूलो वर्षाको अवस्था नरहेको जनाए पनि यात्रालगायतका गतिविधि सञ्चालन गर्दा पछिल्लो मौसम सूचना हेर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।






























