
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताका क्रममा इरानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइने कुनै पनि प्रकारको सहयोग तत्काल रोक्न आग्रह गरेका छन्। अमेरिकी राजदूत डेभिड पर्ड्युका अनुसार ट्रम्पले चीनबाट इरानलाई हुने सहयोगलाई अमेरिकाले अस्वीकार्य मानेको स्पष्ट सन्देश दिएका हुन्।

चीनका लागि अमेरिकी राजदूत पर्ड्युले शुक्रबार सीएनबीसीसँग कुरा गर्दै इरानसम्बन्धी विषय अमेरिकी–चीन वार्तामा पटक–पटक उठ्दै आएको बताए। उनका अनुसार अमेरिकी पक्षले चीनलाई इरानलाई दिइने सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष भए पनि रोक्न आग्रह गरेको छ। यसमा गुप्तचरी सूचना, सैन्य उपकरण तथा विभिन्न पार्टपुर्जालगायत सहयोग समावेश छन्।
अमेरिकी अधिकारीहरूका अनुसार जारी युद्धका क्रममा चीनबाट इरानलाई हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन र क्षेप्यास्त्र निर्माणमा प्रयोग हुने सामग्री उपलब्ध हुनसक्ने विषयमा वासिङ्टन चिन्तित छ। रोयटर्सका अनुसार चीनले इरानलाई सहयोग नगर्ने आश्वासनसमेत दिएको अमेरिकी राजदूत पर्ड्युले बताएका छन्।

पर्ड्युले अमेरिकासँग चीनले इरानलाई सहयोग गरेको प्रत्यक्ष प्रमाण सबै विषयमा नरहेको पनि बताएका छन्। विशेषगरी होर्मुज जलडमरू बन्द राख्न चीनले इरानलाई सहयोग गरेको विषयमा उनले अप्रत्यक्ष सहयोगको आशंका रहे पनि प्रत्यक्ष प्रमाण नभएको बताएका छन्।

अमेरिकी पक्षले इरानसम्बन्धी विषयलाई ताइवानसँग नजोडिएको पनि स्पष्ट पारेको छ। पर्ड्युका अनुसार वासिङ्टनले इरानको विषय अलग मुद्दा भएको चीनलाई बताएको छ। उनले चीनले अमेरिकी चेतावनीलाई ध्यान दिएको र केही गतिविधिमा पछाडि हटेको दाबी गरेका छन्।
यसैबीच, चिनियाँ पक्षले भने इरानसँगको तनाव कम गर्न संवाद र शान्तिपूर्ण समाधानमा जोड दिएको छ। राष्ट्रपति सीले सम्बन्धित पक्षलाई वार्ताको वातावरण कायम राख्न र राजनीतिक माध्यमबाट समस्या समाधान गर्न प्रोत्साहित गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।
ट्रम्प–सी भेटवार्तामा इरानसँगै आणविक हतियार, होर्मुज जलडमरू र अमेरिका–चीन सम्बन्धका अन्य संवेदनशील विषयसमेत उठेका थिए। अमेरिकी पक्षले इरानले आणविक हतियार प्राप्त गर्न नहुने तथा होर्मुज जलडमरू खुला रहनुपर्ने विषयमा जोड दिएको जनाएको छ।






























