
रेबिज रोकथाम तथा नियन्त्रणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यस दिवसको यस वर्षको नारा ‘सँगै अझ बलियो’ रहेको छ।

रेबिजविरुद्धको लडाइँमा सरकार, स्वास्थ्यकर्मी, पशु स्वास्थ्य क्षेत्र, समुदाय तथा अन्य सरोकारवालाबीच सहकार्य र समन्वय बढाउने उद्देश्यले दिवस मनाइन्छ। सेप्टेम्बर २८ लाई फ्रान्सेली वैज्ञानिक लुइस पाश्चरको स्मृति दिवसका रूपमा समेत लिइन्छ। पाश्चरले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए।
ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिज दिवस मनाउन थालेको हो। पछि विश्व स्वास्थ्य संगठनले पनि यस अभियानलाई समर्थन गर्दै आएको छ।


नेपालले सन् २०३० सम्म रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। तर देशमा रेबिज अझै सार्वजनिक स्वास्थ्यको चुनौतीका रूपमा रहेको छ। उपलब्ध विवरणअनुसार नेपालमा हुने रेबिज संक्रमणमध्ये करिब ९९ प्रतिशत कुकुरको टोकाइसँग सम्बन्धित हुने गरेको छ।
रेबिजबाट जोगिन कुकुर तथा अन्य सम्भावित संक्रमित जनावरले टोकेमा घाउलाई तत्काल साबुनपानीले सफा गरी स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय परामर्शअनुसार खोप तथा आवश्यक उपचार लिनुपर्ने स्वास्थ्यकर्मीले बताउँदै आएका छन्। नियमित रूपमा घरपालुवा तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउनु पनि रोग नियन्त्रणको महत्वपूर्ण उपाय मानिन्छ।






























