देउवालाई उद्घाटनको अध्यक्षता गराएर बिदा गरे एकताका लागि तयार छौँ : बलायर

Image
Nisarga Hospital

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर सम्मानपूर्वक बिदा गर्ने वातावरण बने आफूहरू पार्टी एकताका लागि तयार रहेको बताएका छन्।

CP Hospital Dhangadhi

गृहजिल्ला डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बलायरले आगामी असोज १६ गतेदेखि सुरु हुने महाधिवेशनलाई लिएर देखिएको आन्तरिक विवाद समाधान गर्न अझै पनि सहमतिको ढोका खुला रहेको बताएका हुन्। उनले सभापति गगनकुमार थापाले असोज १६ गते हुने उद्घाटन समारोहको अध्यक्षता देउवालाई गराउने र त्यसपछि असोज १७ गतेबाट महाधिवेशन प्रक्रिया अघि बढाउने वातावरण बनाए आफूहरू एकताका लागि तयार रहेको बताए।

बलायरले कांग्रेसभित्रको विवाद समाधानका लागि दुवै पक्षबाट भएका महाधिवेशन प्रक्रियाका प्रतिनिधिलाई समायोजन गरेर अघि बढ्न सकिने विकल्पसमेत अघि सारे। उनका अनुसार पार्टीलाई एकताबद्ध बनाउने हो भने महाधिवेशनको मिति केही समय सारेर दुवै पक्षका प्रतिनिधिलाई एउटै प्रक्रियामा समेट्न सकिने अवस्था अझै रहेको छ।

nawajiwan

कांग्रेसमा १५औँ महाधिवेशनलाई लिएर सभापति गगन थापा नेतृत्वको पक्ष र पूर्वसभापति देउवा पक्षबीच विवाद रहँदै आएको छ। थापाले पनि यसअघि देउवासहित सबै पक्षलाई महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै आवश्यक लचकता अपनाउन आफू तयार रहेको बताएका छन्।

Attariya Hospital

बलायरले आगामी निर्वाचनमा देउवाले गगन थापाको हस्ताक्षर भएको टिकट माग्दा समेत नपाएको विषयलाई राजनीतिक रूपमा अर्थपूर्ण रहेको दाबी गरे। विशेष महाधिवेशनबाट स्थापित नेतृत्वले देउवाको इच्छा पूरा गरिदिएको भए पार्टीभित्रको विवाद कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

‘विशेषलाई अस्वीकार गर्दागर्दै पनि विशेषबाट स्थापित भएको सभापतिको हातबाट टिकट लिएर डडेल्धुरामा लड्छु भन्ने उहाँको इच्छा थियो,’ बलायरले भने, ‘उहाँको अन्तिम इच्छा पूरा गरिदिएको भए हुन्थ्यो नि।’

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका विभिन्न पक्षबीच समायोजन र एकताका प्रयाससमेत भइरहेका छन्। पछिल्लो समय देउवानिकट केही नेताहरू थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी भएका छन् भने देउवा पक्षले भने आफ्नो छुट्टै महाधिवेशनको तयारीसमेत अघि बढाइरहेको छ।