
पाकिस्तानका दुई अनुभवी पाइलट चीनको अन्तरिक्ष अभियानमा सहभागी हुने तयारीमा छन्। SUPARCO का अनुसार जीसान अली र खुर्रम दाउदमध्ये एकजना चीनको अन्तरिक्ष स्टेसन ‘तियाङ्गोङ’सँग सम्बन्धित मिसनमा सहभागी हुनेछन्। यो पाकिस्तानका लागि पहिलो मानव अन्तरिक्ष उडान हुनेछ।

हाल दुवै पाइलट चीनमै कठोर प्रशिक्षणमा छन्। प्रशिक्षणअन्तर्गत चिनियाँ भाषा, अन्तरिक्षयानका प्रणाली, शून्य गुरुत्वाकर्षणमा खाने–सुत्ने, उपकरण मर्मत तथा उडानका क्रममा शरीरमा पर्ने उच्च गुरुत्वाकर्षण बल सहने अभ्यास गराइँदैछ। सेन्ट्रीफ्युज ड्रिलमार्फत तीव्र गतिमा हुने उडानका लागि शारीरिक अनुकूलता विकास गरिँदैछ।
सुपारकोका मानव अन्तरिक्ष उडान सहकार्य प्रमुख अमेर गिलानीका अनुसार दुईमध्ये अन्तिम अन्तरिक्षयात्रीको छनोट अक्टोबरको मध्यदेखि अन्त्यसम्ममा हुने अपेक्षा छ। छनोट हुने व्यक्ति प्रक्षेपणअघि पाकिस्तान फर्किने छैनन्। उनी चीनकै प्रशिक्षण केन्द्रबाट अन्तरिक्ष अभियानमा जानेछन् र पृथ्वीमा फर्किएपछि केही समय चीनमै आराम गरेर मात्र स्वदेश फर्किनेछन्।


यो अभियानको अवधारणा सन् २०१९ मै अघि बढाइएको थियो। प्रारम्भमा पाइलट तथा वैज्ञानिकहरूको ठूलो समूहबाट छनोट प्रक्रिया सुरु गरी संख्या घटाउँदै दुई पाइलटमा सीमित गरिएको थियो। उनीहरूलाई शारीरिक स्वास्थ्य, मानसिक दृढता र उच्च गुरुत्वाकर्षण सहन सक्ने क्षमताका आधारमा छनोट गरिएको हो।
अन्तरिक्षमा जाने पाकिस्तानीलाई ‘पेलोड स्पेसलिस्ट’ का रूपमा जिम्मेवारी दिइनेछ। उनीहरूले यान सञ्चालनभन्दा कक्षमा वैज्ञानिक प्रयोग सञ्चालन गर्नेछन्। सुपारकोमा प्राप्त ३०० भन्दा बढी प्रस्तावमध्ये चीनले चार प्रयोग छनोट गरेको छ, जसमा खाद्य असुरक्षा र जलवायु परिवर्तनसँग सम्बन्धित जैविक प्रविधिका अनुसन्धान समावेश छन्।
चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको अर्को महत्वपूर्ण योजनामा सन् २०२८ को ‘चाङ इ–८’ चन्द्र अभियानमार्फत पाकिस्तानी यान चन्द्रमामा पठाउने योजना पनि छ।






























