
बझाङः ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने मूल नाराका साथ २० औँ विश्व रेबिज दिवस–२०८३ को अवसरमा बझाङमा प्रभातफेरी तथा जनचेतना मूलक कार्यक्रम गरिएको छ । जयपृथ्वी नगरपालिका पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बझाङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

रेबिज रोग नियन्त्रण तथा समुदायमा सचेतना फैलाउने उद्देश्यले बझाङका विभिन्न स्थानीय तहहरूमा सप्ताहव्यापी रूपमा कुकुर र बिरालाहरूलाई रेबिजविरुद्धको खोप लगाउने अभियान चलाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं जयपृथ्वी नगरपालिकाका नगर उपप्रमुख रतन बहादुर सिहले रेबिज मानिस र जनावर दुवैका लागि घातक रोग भएकाले यसबाट बच्न समयमै खोप लगाउनु एकमात्र उपाय रहेको बताउनुभयो। उहाँले समुदायलाई रेबिजमुक्त बनाउन स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको र यस अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, कार्यक्रमका अध्यक्ष एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख करन खड्रकाले अभियान अन्तर्गत जिल्लाभर उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो। पशुधनीहरुले रहरको लागी कुकुर पाल्ने रहर पुगेपछि सामुदायिक कुकुर बनाएर छोड्रने बानी भएकाले यस्तो व्यबहार नगर्न अनुरोध गर्नुभयो ।

उहाँका अनुसार सप्ताह व्यापी अभियानका क्रममा जिल्लाका विभिन्न घुम्ती शिविर तथा स्थानीय तहहरूमा गरी कुल १ हजार ४ सय ५३ वटा कुकुर र बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको बताउनुभयो ।

जसमा १ हजार २ सय ६० कुकुर र १ सय ९३ बिराला सामेल छन्। जसमा घुम्ती शिविर विज्ञ केन्द्र अनुसार ५१५ कुकुर बिराला, थलारा गाउँपालिका ः १६६ कुकुर, १२ बिराला गरी १७८,सुर्मा गाउँपालिकाः १२६ कुकुर, ३० बिराला गरी १५६, केदारस्युँ गाउँपालिकाः ३३ कुकुर, , वित्थडचिर गाउँपालिकाः ४९ कुकुर, २१ बिराला गरी ७०, बुङ्गल नगरपालिका २५, दुर्गाथली गाउँपालिकाः १८५ कुकुर, २२ बिराला गरी २०७, छबिसपाथिभेरा गाउँपालिकाः २३ कुकुर, १३ बिराला गरी ३६, तलकोट गाउँपालिकाः ८५ कुकुर, ६७ बिराला गरी १५२ , मष्टा गाउँपालिकाः ३० कुकुर, १ बिराला गरी ३१, साईपाल गाउँपालिकाः ४६ कुकुर, ४ बिराला गरी ५० वटा कुकुर बिलोलाइ खोप लगाइएको छ ।
आगामी दिनमा पनि यस्ता चेतनामूलक तथा खोप अभियानलाई निरन्तरता दिँदै बझाङ जिल्लालाई पूर्ण रूपमा रेबिजमुक्त बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।































