
बझाङ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बझाङमा महाधिवेशन प्रतिनिधि चयनका लागि हुने निर्वाचनको तयारी तीव्र बनेको छ। निर्वाचनको पूर्वसन्ध्यामा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदका उम्मेदवार युवा नेता अभिषेक बहादुर सिंहले क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिसँग मत मागेका छन्।

सिंहले पार्टीको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने, युवालाई पार्टीको नेतृत्व तहमा अर्थपूर्ण रूपमा सहभागी गराउने तथा बझाङका राजनीतिक, सामाजिक र विकासका सवाललाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।
“पार्टीको संगठनलाई बलियो बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर काम गर्ने मेरो प्रतिबद्धता छ,” सिंहले भनेका छन्।


उनले बझाङका क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा कांग्रेसका सम्पूर्ण प्रतिनिधिहरूसँग आफूलाई विश्वास गरी मतदान गर्न आग्रह गरेका छन्। सिंहले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए जिल्लाका साझा सवाललाई पार्टीको केन्द्रीय नेतृत्वसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
युवा पुस्तामाझ लोकप्रिय मानिने सिंहको उम्मेदवारीसँगै बझाङमा महाधिवेशन प्रतिनिधि निर्वाचनको प्रतिस्पर्धा थप रोचक बनेको छ। निर्वाचनका लागि उम्मेदवारहरू क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिसँग भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन्।






























