
मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई विस्फोट गराएर खोल्ने प्रयास तत्काल सफल हुन सकेको छैन। ब्लास्टका लागि आवश्यक ठूलो चट्टान फेला नपरेपछि नेपाली सेनाको प्राविधिक टोलीले विस्फोट गराउने काम अघि बढाउन नसकेको हो।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट आएको सेनाको प्राविधिक टोली सोमबार चामे पुगे पनि नदी थुनिएको आसपास ब्लास्टका लागि उपयुक्त स्थान भेटिएन। उक्त क्षेत्रमा ठूलो चट्टानभन्दा गिट्टी, बालुवा, रुख, माटो र लेदोसहितको सामग्री थुप्रिएको छ।
ब्लास्ट तत्काल सम्भव नभएपछि अहिले दुई वटा उपकरण प्रयोग गरी नदीको अवरोध हटाउने काम भइरहेको छ। अवरोध हटाएर पानीको बहावलाई सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको पौडेलले बताए।


अविरल वर्षापछि घट्टेखोलाबाट बगेको लेदोसहितको ढुंगा, गिट्टी र बालुवा थुप्रिँदा मर्स्याङ्दी नदी थुनिएको हो। नदी थुनिएपछि बनेको तालबाट भने आंशिक रूपमा पानी बग्न थालेको छ।
पौडेलका अनुसार अहिले करिब ४ सय मिटर लामो, ८० मिटर चौडा र २० फिटसम्म गहिरो ताल बनेको छ। चार दिनसम्म परेको अविरल वर्षाका कारण मनाङका विभिन्न क्षेत्रमा विद्युत्, टेलिफोन तथा सडक सञ्जालसमेत प्रभावित भएका छन्। नदीको अवरोध हटेपछि यातायात तथा अन्य सेवा सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।






























