
धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले पाँच लाख रुपैयाँ लगानीबाट सुरु गरेको फूलखेती अहिले ५० लाख रुपैयाँको व्यवसाय बनेको छ। तीन वर्षअघि धनगढी उपमहानगरपालिकाबाट फूलखेतीसम्बन्धी तालिम लिएपछि व्यावसायिक खेतीमा लागेकी सुशीला अहिले आफ्नै मेहनतबाट आत्मनिर्भर बनेकी छन्।

‘न्यू बण्डोली नर्सरी कन्सर्न फार्म’मार्फत दुई बिघा जमिन लिजमा लिएर फूलखेती गर्दै आएकी उनले वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार गर्ने गरेकी छन्। फूलका बिरुवा उत्पादनदेखि गोडमेल र हेरचाहसम्मका काममा उनले ११ जना स्थानीयलाई रोजगारीसमेत दिएकी छन्। उनीहरूको पारिश्रमिकमा मासिक करिब एक लाख ८० हजार रुपैयाँ खर्च हुने गरेको छ।
सबै खर्च कटाएर वार्षिक करिब २० लाख रुपैयाँ बचत हुने गरेको सुशीला बताउँछिन्। उनका अनुसार यही व्यवसायको आम्दानीबाट परिवारको सम्पूर्ण खर्च धानिँदै आएको छ।

प्रतिलिटर होइन, प्रतिकिलो करिब ४ सय रुपैयाँसम्ममा फूल बिक्री गर्दै आएकी उनले कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका नौवटै जिल्लामा फूल पुर्याउँदै आएकी छन्। मागअनुसार काठमाडौंसम्म पनि फूल पठाउने गरेकी छन्। धनगढी उपमहानगरपालिकाको परिसरमा बिक्री केन्द्र सञ्चालन गरी फूल, माला, बुके तथा अन्य सजावटका सामग्रीसमेत बिक्री गर्दै आएकी छन्।

उनको फार्ममा सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्लाडियोलसलगायत विभिन्न जातका फूल उत्पादन भइरहेका छन्। फूलसँगै उनले फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आएकी छन्।
विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक पर्व, औपचारिक कार्यक्रम र विद्यालयका विभिन्न समारोहमा फूल तथा सजावटका सामग्रीको माग बढेसँगै उनको व्यवसायले पनि गति लिएको छ।
पाँच लाख रुपैयाँबाट सुरु भएको व्यवसायमा ५० लाख रुपैयाँ लगानी विस्तार गर्दै फूलसँगै रोजगारी र आत्मनिर्भरताको बाटो फुलाएकी सुशीलाको उद्यमशीलता स्थानीय कृषि क्षेत्रमा प्रेरणाको उदाहरण बनेको छ।






























