
अत्तरिया: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि ख्रिष्टिय एकता समाज कैलालीले ८ लाख १ हजार ८५० रुपैयाँ सहयोग गरेको छ।

समाजले कैलालीका १३ वटै पालिकामा आबद्ध चर्च तथा कार्यसमिति सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै बेपत्ता नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सरोकारवाला निकाय, संघसंस्था तथा आमनागरिकलाई सहयोगमा जुट्न समाजले अपिल गरेको छ।

समाजका अध्यक्ष पा. ज्ञानबहादुर चौधरी र सचिव खडक बिकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएका छन्। साथै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको सुरक्षाका लागि निरन्तर प्रार्थनामा प्रतिबद्ध रहेको समाजले जनाएको छ।






























