
बैतडीः बैतडीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्। मंगलबार बिहान दशरथचन्द नगरपालिका–१ गुरुखोला नजिक मोटरसाइकलले ठक्कर दिँदा दशरथचन्द नगरपालिका–२ देहिमाण्डौँकी ६३ वर्षीया पार्वती लावड घाइते भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गोकुलेश्वरबाट गोठलापानीतर्फ जाँदै गरेको सु.प.प्र.०२–००३ प २२२१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो। मोटरसाइकल डिलाशैनी गाउँपालिका–५ का ४३ वर्षीय बासुदेव नाथले चलाइरहेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक नाथलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते पार्वतीलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।































