चाडपर्व लक्षित ट्राफिक कडाइ : रात्रिकालीन लामो दूरीका सवारीमा दुई चालक अनिवार्य

Image
Nisarga Hospital

काठमाडौंः चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले रात्रिकालीन लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ। यात्रुको सुरक्षा, चालकको थकान व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि निगरानी र जाँच बढाउन लागिएको हो।

CP Hospital Dhangadhi

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले लामो दूरीका सवारीमा दुई चालक भए–नभएको नियमित जाँच गरिने र नियमविपरीत एक जना चालक मात्रै राखेर सवारी चलाएको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने बताए।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुई चालकको व्यवस्थाले लामो यात्रामा चालकले पालैपालो सवारी चलाउँदै पर्याप्त आराम पाउने भएकाले थकानका कारण हुन सक्ने दुर्घटनाको जोखिम घटाउन सहयोग पुग्नेछ।

nawajiwan
Attariya Hospital

ट्राफिक प्रहरीले लामो दूरीका सवारी चालकले मादक पदार्थ तथा लागूऔषध सेवन गरे–नगरेको विषयमा समेत कडाइका साथ जाँच गर्ने जनाएको छ। साथै सवारीसाधनको भौतिक अवस्था, चालकको योग्यता र ट्राफिक नियम पालनाको अवस्थासमेत निगरानी गरिनेछ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा पुर्‍याउने गतिविधिमाथि पनि निगरानी बढाइने प्रहरीले जनाएको छ। मुख्य सडक तथा बढी सवारी आवागमन हुने क्षेत्रमा थप प्रहरी परिचालन गरी दिवा तथा रात्रिकालीन जाँच तीव्र पारिनेछ। ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि चालकलाई नियम पालना गर्न र यात्रुलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।