
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थामाथि कडाइ गर्ने भएको छ। सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको हो।
ऐनअनुसार सरकारी अस्पताल वा स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटर दूरीभित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न पाइँदैन। मन्त्रालयले यसअघि पनि २०७९ माघ २९ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित ऐन कार्यान्वयन गर्न निर्देशन दिएको थियो।
तर, उक्त निर्देशन र मापदण्डअनुसार ऐन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले पुनः तत्काल र कडाइका साथ कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई ताकेता गरेको हो। मन्त्रीस्तरीय निर्णयअनुसार सरकारी अस्पताल आसपास सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल आसपास भने ३०० मिटरभित्रै विभिन्न निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, प्रयोगशाला तथा औषधि पसल सञ्चालनमा छन्। तीमध्ये कतिपयले स्वास्थ्य संस्था सञ्चालनको अनुमति नै नलिएको पाइएको जनाइएको छ। साथै सरकारी अस्पतालमा कार्यरत केही चिकित्सकले अस्पताल आसपास सञ्चालित निजी क्लिनिकमा समेत सेवा दिइरहेको विषयले सरकारी स्वास्थ्य सेवाको व्यवस्थापन र नियमनमाथि प्रश्न उठाउँदै आएको छ।
मन्त्रालयले ऐन तथा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गरी सरकारी स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिएको जनाएको छ।































