अत्तरियाको बजार अनुगमनमा अखाद्य मासुदेखि म्याद नाघेका मसालासम्म बरामद, व्यवसायीलाई दिए सुझाव

Image
Nisarga Hospital

अत्तरियाः चाडपर्वलाई लक्षित गर्दै कैलालीको गोदावरी नगरपालिकाले सञ्चालन गरेको बजार अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनको दोस्रो दिन अत्तरिया बजार क्षेत्रका विभिन्न होटल तथा किराना पसलबाट अखाद्य, म्याद नाघेका तथा प्रयोग गर्न नमिल्ने खाद्य वस्तु बरामद गरिएको छ।

CP Hospital Dhangadhi

नगरपालिकाका अनुसार अनुगमनका क्रममा होटल तथा खाद्य व्यवसायबाट प्लास्टिकका चपिङ बोर्ड (कटिङ बोर्ड), म्याद सकिएका मसला, अखाद्य आइसक्रिम, अखाद्य रङ्ग मिसाइएको मासुलगायत विभिन्न खाद्य सामग्री फेला परेका थिए। अनुगमन टोलीले उपभोगका लागि अनुपयुक्त तथा म्याद नाघेका वस्तु जफत गरी नष्ट गरेको जनाएको छ।

nawajiwan

गोदावरी नगरपालिका आर्थिक विकास शाखाका प्रमुख समुन्द्र धामीका अनुसार उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षण गर्ने उद्देश्यले विगतका वर्षमा झैँ यस वर्ष पनि चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको हो। दोस्रो दिनको अनुगमनका क्रममा होटलहरूबाट बढी मात्रामा अखाद्य सामग्री फेला परेको उनले बताए।

धामीका अनुसार होटलहरूबाट प्लास्टिकका चपिङ बोर्ड, अखाद्य रङ्ग मिसाइएको मासु तथा अन्य खाद्य सामग्री बरामद गरिएको थियो भने किराना पसलबाट म्याद नाघेका मसला, अखाद्य आइसक्रिमलगायत सामग्री फेला परेका थिए। बरामद गरिएका सामग्री तत्काल जफत गरी नष्ट गरिएको उनले जानकारी दिए।
अनुगमनका क्रममा केही व्यवसायीले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण नगरी पसल सञ्चालन गरिरहेको समेत पाइएको छ। त्यस्ता व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिँदै चेतावनी दिइएको नगरपालिकाले जनाएको छ।

Attariya Hospital

चाडपर्वका बेला खाद्य तथा उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले अवैध कारोबार, म्याद नाघेका तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण नियन्त्रण गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने धामीले बताए। उनका अनुसार विगतका वर्षको तुलनामा यस वर्षको अनुगमनका क्रममा अखाद्य वस्तु कम मात्रामा फेला परेको छ।

नगरपालिकाले उपभोक्तालाई पनि बजारबाट खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, लेबल, प्याकेजिङ तथा गुणस्तरसँग सम्बन्धित विवरण अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ। म्याद नाघेका वा अखाद्य वस्तु बिक्री भइरहेको पाइएमा तत्काल नगरपालिका वा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ।

उपभोक्ताबाट प्राप्त सूचनाका आधारमा तत्काल अनुगमन गरी आवश्यक कारबाही गरिने आर्थिक विकास शाखाका प्रमुख धामीले बताए। नगरपालिकाले चाडपर्व अवधिभर बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार …

चाडपर्वअघि कैलालीको अत्तरियामा बजार अनुगमन : म्याद नाघेका भुजादेखि ढुसी लागेको मिठाई बरामद