
डडेल्धुरा: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले बिहीबारदेखि डडेल्धुराका ५२ वटै वडामा समानान्तर रूपमा वडा अधिवेशन प्रक्रिया सुरु गरेको छ। कांग्रेसले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै रूपमा वडाबाट महाधिवेशन प्रक्रिया अघि बढाएको हो।
कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीको नेतृत्वमा वडा अधिवेशन सुरु गरिएको हो। जोशीका अनुसार सातवटै स्थानीय तहका ५२ वडामा प्रतिनिधि खटाएर अधिवेशनको काम अघि बढाइएको छ। उनले एक–दुई दिनभित्र सबै वडाको अधिवेशन सम्पन्न गर्ने दाबी गरेका छन्।

देउवा पक्षमा जिल्ला उपसभापतिहरू डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, पूर्वराज्यमन्त्री सरस्वती खड्का, जगत ऐरलगायतका नेता सहभागी छन्।
यता, कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा कांग्रेस बीपीका पूर्वउपसभापति कर्ण मल्ल समूह भने दुवै पक्षको अधिवेशनमा सहभागी भएको छैन। मल्ल असोज ४ गतेदेखि सुरु भएको संस्थापन पक्षको वडा अधिवेशनमा पनि सहभागी भएका थिएनन्। देउवा पक्षको अधिवेशनमा समेत उनको सहभागिताबारे कुनै जानकारी नरहेको उपसभापति जोशीले बताएका छन्।

यसअघि कांग्रेसको संस्थापन पक्षले असोज ४ र ५ गते डडेल्धुराका वडामा अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिसमेत चयन गरिसकेको छ। संस्थापन पक्षमा जिल्ला सभापति भीमबहादुर साउद, केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वसभापति रघुवर भट्ट, पूर्वमन्त्री गोविन्द बोहरालगायतका नेताहरू सहभागी भएका थिए।































