
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको छ। नगरपालिकाका ५ वटा वडामा बिहीबार वडा अधिवेशन भइरहेको कांग्रेस गोदावरी नगर सभापति वीरबहादुर चोखालले जानकारी दिएका छन्।

उनका अनुसार गोदावरी नगरपालिका–१, २, ४, ६ र ८ नम्बर वडामा आजै अधिवेशन भइरहेको छ। बाँकी वडामा भने शुक्रबार र त्यसपछि क्रमशः वडा अधिवेशन गरिने तयारी रहेको उनले बताए।
‘आज पहिलो दिन पाँच वडामा अधिवेशन भइरहेको छ। बाँकी वडामा भोलि र पर्सी अधिवेशन सम्पन्न गर्ने तयारी छ,’ नगर सभापति चोखालले भने।
गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट पनि देउवा पक्षमा खुलेर उभिएका छन्। उनले बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत कांग्रेस कार्यकर्तालाई वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका थिए।


यसअघि गोदावरीमा नेपाली कांग्रेसको संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ। संस्थापन पक्षले वडा अधिवेशनपछि नगर तथा क्षेत्रीय अधिवेशनसमेत सम्पन्न गरिसकेको जनाएको छ।
नेपाली कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेका बेला देउवा पक्षले भने समानान्तर रूपमा वडा तहबाटै अधिवेशन प्रक्रिया सुरु गरेको हो। यसले कांग्रेसभित्रको आन्तरिक विवाद र दुई समूहबीचको संगठनात्मक प्रतिस्पर्धालाई स्थानीय तहसम्मै देखाएको छ।
देउवा पक्षले १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने गरी आफ्नो कार्यतालिका अघि सारेको छ। गोदावरीमा वडा अधिवेशनसँगै अब बाँकी वडामा पनि क्रमशः प्रक्रिया अघि बढ्ने कांग्रेस नेताहरूले बताएका छन्।






























