
अत्तरियाः कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेशस्तरीय छात्र तथा गोदावरी नगरपालिकास्तरीय छात्रा यू–१९ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले आगामी कार्तिक १४ गतेदेखि आफ्नै खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो। विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिताका संयोजक शिक्षक सुरेश सिंह धामीका अनुसार दसैं–तिहारबीचको विद्यार्थीको खाली समयलाई सिर्जनशील तथा रचनात्मक गतिविधिमा उपयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत १९ वर्षमुनिका विद्यार्थी सहभागी हुन पाउनेछन्।

प्रदेशस्तरीय छात्रतर्फ प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ, उपविजेताले ७५ हजार १११ रुपैयाँ र तेस्रो हुने टोलीले ३२ हजार ११ रुपैयाँ पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, गोदावरी नगरपालिकास्तरीय छात्रातर्फ विजेताले ५१ हजार १११ रुपैयाँ, उपविजेताले २५ हजार १११ रुपैयाँ र तेस्रो हुने टोलीले १२ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन्। छात्र र छात्रातर्फका उत्कृष्ट खेलाडीलाई समेत जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको वेबसाइटबाट आवश्यक विवरण हेरी फारम डाउनलोड गरेर इमेलमार्फत पठाउन सक्नेछन्। छात्रतर्फ सहभागिता शुल्क ७ हजार रुपैयाँ र छात्रातर्फ ३ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगितामा करिब ५० टोलीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।
विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले विद्यालयले आयोजना गर्ने विभिन्न गतिविधिमध्ये भलिबल प्रतियोगिता महत्वपूर्ण कार्यक्रम रहेको बताए। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको र आवश्यक दस्तावेज तथा तयारी पूरा भइसकेको उनले जानकारी दिए। सहभागी टोलीको संख्याका आधारमा प्रतियोगिता कति दिन सञ्चालन गर्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले सुदूरपश्चिमकै ठूलो शैक्षिक संस्थामध्ये एकका रूपमा विद्यालयका गतिविधिलाई प्रदेशभर पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। पछिल्लो समय विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै खेल प्रशिक्षक नै नियुक्त गरेर प्रशिक्षण सञ्चालन गरिरहेको उनले जानकारी दिए।
भट्टराईका अनुसार प्रतियोगिता विद्यार्थीको शैक्षिक विकाससँगै शारीरिक तथा मानसिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। विद्यालय तहबाटै खेलकुदको विकास र भलिबलको संरक्षण गर्न प्रतियोगितामार्फत सकारात्मक सन्देश दिने उद्देश्य रहेको उनले बताए। प्रतियोगिता सम्पन्न गर्न प्रायोजकसँगै विद्यालयको आन्तरिक स्रोतसमेत परिचालन गरिने आयोजकले जनाएको छ।






























