
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१०, जुगेडामा ‘निसर्ग इन्डो–नेपाल जुगेडा कप–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिता असोज २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


ग्रामीण क्षेत्रमा लुकेका खेल प्रतिभाको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राना जनचेतना परिवारले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई २०/२० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका विषयमा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रको उपस्थिति रहेको थियो।
आयोजक संयोजक सुरज रानाका अनुसार जुगेडा कप खेलकुद प्रतियोगितामा मात्र सीमित नभई ग्रामीण क्षेत्रका प्रतिभाको पहिचानसँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगिताले नेपाल–भारतबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
प्रतियोगिताको मुख्य प्रायोजक केयर टेकर हस्पिटल रहेको छ भने धनगढी उपमहानगरपालिका–१० वडा कार्यालयसहित विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ।































