
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया नदीमा नुहाउने क्रममा डुबेर एक जना युवक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी बिहीबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार सुवेदी दिउँसो करिब साढे ४ बजेतिर धनगढीबाट अन्य तीन जना साथीसहित खुटिया नदीमा नुहाउन पुगेका थिए। नुहाउने क्रममा उनी अचानक नदीमा डुबेर बेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बेपत्ता सुवेदीको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा नदी आसपासको क्षेत्रमा खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

नदीमा पानीको बहाव तथा गहिराइका कारण खोजीकार्यमा कठिनाइ भइरहेको बताइएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।






























