
डोटीः डोटीको आदर्श गाउँपालिका–५ तलाराकी करिब ५२ वर्षीया लक्ष्मी ओझा सायल खोला किनारमा मृत अवस्थामा फेला परेकी छन्। धान चुट्न घरबाट हिँडेकी ओझा गन्तव्यमा नपुगेपछि खोजी गर्ने क्रममा उनको शव खोला किनारमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ओझा सोही ठाउँका करिब ४५ वर्षीय शेरबहादुर बोहरासँग धान चुट्नका लागि सोमैजी माण्डुतर्फ गएकी थिइन्। उनीहरू तोकिएको स्थानमा नपुगेपछि आफन्त तथा स्थानीयले खोजी सुरु गरेका थिए।
खोजीका क्रममा सायल खोला किनारमा लक्ष्मीको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

लक्ष्मीसँगै धान चुट्न गएका बोहरा भने अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। उनको अवस्था पत्ता लगाउन स्थानीय र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक वासुदेव अवस्थीको कमाण्डमा समेत प्रहरी टोली घटनास्थलमा खटाइएको छ। प्रहरीले घटनास्थलको अवस्थाबारे आवश्यक अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ।
महिलाको मृत्यु कसरी र कुन परिस्थितिमा भयो भन्ने कुरा हालसम्म खुल्न सकेको छैन। प्रहरीका अनुसार मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै स्पष्ट हुने भएकाले अहिले नै कुनै निष्कर्षमा पुग्न सकिने अवस्था छैन।
यस घटनाले लक्ष्मीको मृत्यु र उनीसँगै गएका बोहराको अवस्थाबारे थप चासो बढाएको छ। प्रहरीले बोहराको खोजीलाई प्राथमिकतामा राख्दै घटनाको सम्पूर्ण पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ।






























