कांग्रेसको खुला केन्द्रीय सदस्यमा नरबहादुर खड्काको उम्मेदवारी, अघि सारे सातबुँदे रूपान्तरणको एजेण्डा

Image
Nisarga Hospital

अत्तरिया: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै डोटीका युवा नेता नरबहादुर खड्का (नरेश)ले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले ‘नयाँ सोच, स्वच्छ राजनीति, सक्षम नेतृत्व र समृद्ध नेपालको संकल्प’सहित आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै पार्टी रूपान्तरणका लागि सातबुँदे प्रतिबद्धता-पत्रसमेत अघि सारेका छन्।

CP Hospital Dhangadhi

लोकतान्त्रिक आन्दोलन, संविधानको रक्षा र नागरिक अधिकार स्थापनामा नेपाली कांग्रेसले खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै खड्काले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीलाई समयसापेक्ष, नीतिमुखी, प्रविधिमैत्री, युवामुखी र जनविश्वासयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको आकांक्षामा मात्र सीमित नराखी पार्टीलाई थप सुदृढ, एकताबद्ध र भविष्यप्रति उत्तरदायी बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्। ‘बलियो संगठन, सक्षम नेतृत्व, समावेशी विकास र समृद्ध नेपाल’लाई मूल दृष्टिकोण बनाएका खड्काले पार्टीभित्र पुस्तान्तरणसँगै विचार, कार्यशैली र संगठनात्मक संरचनामा समेत सुधार आवश्यक रहेको बताएका छन्।

nawajiwan

खड्काले सार्वजनिक गरेको सातबुँदे प्रतिबद्धता-पत्रमा युवाको नीति निर्माणमा अर्थपूर्ण सहभागिता, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, आधुनिक र सशक्त संगठन निर्माण, सुशासन र स्वच्छ राजनीति, शिक्षा तथा नवप्रवर्तनमा लगानी, समावेशी र एकताबद्ध पार्टी निर्माण तथा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणलाई प्राथमिकतामा राखेका छन्।

उनले पार्टीका सबै तहमा युवाको सहभागिता सुनिश्चित गर्न स्थायी युवा नीति मञ्च स्थापना गर्ने, युवा उद्यमीलाई लगानी र स्टार्टअपमा प्रोत्साहन गर्ने तथा संगठनलाई प्रविधिमैत्री बनाउन कार्यकर्ता व्यवस्थापन र आपसी संवादलाई डिजिटल प्रणालीसँग जोड्ने योजना अघि सारेका छन्।

Attariya Hospital

त्यस्तै, भ्रष्टाचारप्रति शून्य सहनशीलता, गुणस्तरीय र रोजगारमुखी शिक्षा, गुटगत राजनीतिभन्दा माथि उठेर सबै समुदायको प्रतिनिधित्व हुने समावेशी संगठन निर्माण तथा विधिको शासनप्रति प्रतिबद्धता जनाएका छन्।
आफ्नो कार्यशैली ‘सुन्ने, सिक्ने र सहकार्य गर्ने’ हुने उल्लेख गर्दै उनले निर्णय प्रक्रियामा संवादलाई प्राथमिकता दिने र निर्णय भइसकेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहने बताएका छन्।

व्यक्तिगत स्वार्थभन्दा पार्टी र राष्ट्रको हितलाई सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गर्दै खड्काले महाधिवेशन प्रतिनिधिहरूबाट समर्थन प्राप्त भएमा युवा पुस्ताका विचार र मुद्दालाई केन्द्रीय समितिसम्म प्रभावकारी रूपमा पुर्‍याउने बताएका छन्।

‘हाम्रो पुस्ताले केवल भविष्यको प्रतीक्षा गर्ने होइन, भविष्य निर्माण गर्ने जिम्मेवारी लिनुपर्छ,’ खड्काले भनेका छन्।

उनले युवाको ऊर्जा, अग्रजको अनुभव र लोकतान्त्रिक मूल्यलाई एकीकृत गर्दै आधुनिक, समावेशी र जनउत्तरदायी कांग्रेस निर्माणका लागि महाधिवेशन प्रतिनिधिहरूसँग मत, साथ र सहयोगको अपिल गरेका छन्।