
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको संख्या ७ लाख ३२ हजार नाघेको छ। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार गत भदौ मसान्तसम्म प्रदेशका नौवटै जिल्लाबाट ७ लाख ३२ हजार ७५२ जना स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्।

स्वास्थ्य बिमा बोर्डको बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार सबैभन्दा बढी कैलालीका नागरिक स्वास्थ्य बिमामा जोडिएका छन्। कैलालीमा मात्रै ३ लाख ६१ हजार ९७९ जना बिमित छन्। यस्तै, कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८, डोटीमा २७ हजार ८६२ र दार्चुलामा २३ हजार २०३ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन्।
स्वास्थ्य बिमा बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदका अनुसार स्वास्थ्य बिमा कार्यक्रमले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै उपचारका क्रममा हुने ठूलो आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याइरहेको छ। आर्थिक रूपमा कमजोर परिवारका लागि उपचार खर्च व्यवस्थापनमा बिमा कार्यक्रम महत्वपूर्ण राहतका रूपमा विस्तार भइरहेको उनको भनाइ छ।


नेपालमा स्वास्थ्य बिमा कार्यक्रम २०७२ चैत २५ गतेदेखि नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा उपचार खर्चको आर्थिक भार घटाउने उद्देश्यले सुरु गरिएको हो। कार्यक्रमलाई व्यवस्थित सञ्चालन गर्न स्वास्थ्य बिमा ऐन, २०७४ र स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको हो।
स्वास्थ्य बिमामा आबद्ध हुन पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गर्नुपर्छ। पाँच जनाभन्दा बढी सदस्य भएमा थप सदस्यका लागि प्रतिव्यक्ति ७०० रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ। बिमित परिवारले पाँच सदस्यसम्म अधिकतम एक लाख रुपैयाँसम्म र त्यसपछि थप हुने प्रत्येक सदस्यबापत २० हजार रुपैयाँका दरले अधिकतम दुई लाख रुपैयाँसम्म उपचार सुविधा पाउने व्यवस्था रहेको बोर्डले जनाएको छ।
त्यसैगरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अतिविपन्न, अपाङ्गता भएका व्यक्ति तथा कुष्ठरोग, एचआइभी र एमडीआर–टीबीका बिरामीका लागि सरकारले नै प्रिमियम तिरिदिने गरी निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ। बिमा कार्यक्रमअन्तर्गत तोकिएका सरकारी स्वास्थ्य संस्थाबाट ओपिडी, आकस्मिक सेवा, प्रयोगशाला परीक्षण, सामान्य शल्यक्रियालगायत विभिन्न स्वास्थ्य उपचार सेवा लिन सकिने व्यवस्था छ।






























