सुरक्षा घेरामै तस्करीको खेल ! त्रिनगरबाट छिरेको डेढ लाखको सामान धनगढीमा बरामद, सशस्त्र प्रहरीमाथि मिलेमतोको गम्भीर आरोप

Image
Nisarga Hospital

धनगढी । कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकामा सशस्त्र प्रहरीको बाक्लो सुरक्षा उपस्थिति र नियमित गस्ती हुँदाहुँदै सीमा क्षेत्रबाट ठूलो परिमाणमा अवैध सामान नेपाल भित्रिने गरेको तथ्यले सीमा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
आइतबार बिहान करिब ३ बजे जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीस्थित फनपार्क छेउको क्षेत्रबाट करिब डेढ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बेवारिसे अवस्थामा सुर्तीजन्य पदार्थ तथा सुटपिस कपडालगायतका सामान फेला परेका हुन् ।
सीमा सुरक्षाका लागि त्रिनगर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको टोली परिचालन छ । नजिकै नल्काघाट क्षेत्रमा समेत बीओपी स्थापना गरिएको छ । नियमित गस्ती र सुरक्षा निगरानी हुने भनिएको क्षेत्रबाटै सामान सीमा पार गराएर धनगढीसम्म ल्याइएको अवस्थामा बरामद हुनु सामान्य घटना मात्र नभई सीमा सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्न उठाउने विषय बनेको छ ।
स्रोतको सूचना र बरामद सामानबीच मिल्दोजुल्दो तथ्य
स्रोतले लामो समयदेखि त्रिनगर–गौरीफन्टा क्षेत्रमा सक्रिय केही समूहले भारतको बनगाउँ क्षेत्रबाट सामान ल्याउने गरेको जानकारी दिँदै आएको थियो । स्रोतका अनुसार अत्तरिया, गेटा, विशालनगर, कटान, ढोकेबजारलगायत क्षेत्रसँग सम्बन्धित भनिएका महिला समूहहरू समूहगत रूपमा सीमा पार गरी सामान ओसारपसारमा सक्रिय छन् ।
उनीहरूले दिनमा पटक–पटक भारततर्फ जाने, सानो परिमाणमा सामान बोकेर ल्याउने र आवश्यकताअनुसार विभिन्न समूहले सामान ओसारपसार गर्ने गरेको स्रोतको दाबी छ ।
स्रोतले दाबी गरेका सामानमध्ये कपडा तथा सुर्तीजन्य सामग्री नै जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले फनपार्क क्षेत्रबाट बरामद गरेको छ । यसले सीमा क्षेत्रमा लामो समयदेखि भइरहेको भनिएको सामान ओसारपसारसम्बन्धी सूचनालाई थप गम्भीर बनाएको छ ।
सुरक्षा घेरा पार गरेर सामान धनगढीसम्म कसरी पुग्यो ?
मुख्य प्रश्न यही हो—त्रिनगर–गौरीफन्टा नाकामा सशस्त्र प्रहरीको सुरक्षा, नजिकै बीओपी, नियमित गस्ती र सीमा निगरानी हुँदाहुँदै भारतबाट ल्याइएको भनिएको सामान सीमा पार गरेर धनगढीको फनपार्क क्षेत्रसम्म कसरी पुग्यो ?
यदि सीमा क्षेत्रमै प्रभावकारी चेकजाँच भइरहेको थियो भने करिब डेढ लाख रुपैयाँभन्दा बढीको सामान रातको समयमा सुरक्षा घेरा पार गरेर धनगढीसम्म पुग्नुले निगरानी प्रणालीमा गम्भीर कमजोरी देखाउँछ ।
अझ स्रोतले पहिलेदेखि नै केही समूह र सामान ओसारपसारबारे सुरक्षा निकायलाई जानकारी रहेको दाबी गरिरहँदा समेत त्यस्ता समूहको आवतजावत, उनीहरूको गतिविधि र सामान ओसारपसारको रुटमाथि प्रभावकारी निगरानी नहुनुले आशंका थप बढाएको छ ।
‘सेटिङ’ बिना सम्भव छ त यस्तो ओसारपसार ?
स्रोतले सीमा क्षेत्रमा खटिएका केही सुरक्षाकर्मी र सामान ओसारपसारमा संलग्न समूहबीच मिलेमतो तथा सूचना आदानप्रदान हुने गरेको गम्भीर आरोप लगाएको छ ।
स्रोतका अनुसार आफूअनुकूल व्यक्तिका सामानमा आँखा चिम्लिने र केही व्यक्तिका सामानमा मात्रै कडाइ गर्ने गरिएको आरोपसमेत छ । सामान ल्याउने समूहलाई सुरक्षा चेकजाँचको अवस्था तथा बाटोबारे सूचना दिने गरेको दाबीसमेत स्रोतले गरेको छ ।
यद्यपि, यो आरोपमाथि सम्बन्धित सुरक्षाकर्मी र सशस्त्र प्रहरी नेतृत्वको आधिकारिक धारणा आउन बाँकी छ ।
तर, सुरक्षा घेराभित्रैबाट सामान निस्किएर धनगढीमा पुग्नु र त्यसपछि नेपाल प्रहरीले बरामद गर्नुले ‘सुरक्षा संयन्त्रभित्रै कतै कमजोरी वा मिलेमतो त छैन ?’ भन्ने प्रश्नलाई बलियो बनाएको छ ।
सशस्त्र प्रहरीलाई चुनौती : सीमा हेर्ने निकायले जवाफ दिनुपर्ने अवस्था
त्रिनगर–गौरीफन्टा सुदूरपश्चिमकै प्रमुख सीमा नाका हो । यहाँबाट हुने अवैध सामान ओसारपसार रोक्ने जिम्मेवारीमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुन्छ ।
तर, सीमा क्षेत्रमा खटिएको सुरक्षा संयन्त्रले सामान रोक्न नसक्ने र नेपाल प्रहरीको टोलीले धनगढीभित्र पसेपछि सामान बरामद गर्ने अवस्था दोहोरिन थालेमा सीमा सुरक्षाको प्रभावकारितामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।
अब सशस्त्र प्रहरीले स्पष्ट पार्नुपर्ने प्रश्नहरू धेरै छन्—
भारतबाट आएको भनिएको डेढ लाखभन्दा बढीको सामान कुन बाटो हुँदै नेपाल प्रवेश गर्‍यो ?
कुन बिन्दुबाट सीमा पार गरियो ?
त्यो समयमा ड्युटीमा को–को थिए ?
नजिकैको बीओपीको गस्ती कहाँ थियो ?
सीमा पार गर्ने समूहको निगरानी किन भएन ?
र, स्रोतले दाबी गरेजस्तै नियमित रूपमा सामान ओसारपसार गर्ने समूहबारे सुरक्षा निकायलाई जानकारी थियो भने कारबाही किन भएन ?
यी प्रश्नको जवाफ अनुसन्धानबाट खोजिन आवश्यक छ ।
त्रिनगर–गौरीफन्टा नाकामा सुरक्षा संयन्त्रको उपस्थितिका बाबजुद सामान धनगढीसम्म पुगेर बरामद भएको पछिल्लो घटनाले सीमा सुरक्षाको कमजोरी मात्र देखाएको हो वा सुरक्षा घेराभित्रै कुनै किसिमको मिलेमतो छ भन्ने विषयमा गम्भीर छानबिन आवश्यक देखिएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital