दसैँमा बढी भाडा लिए कारबाही, यात्रु सहायता र सवारीको फिटनेसमा विशेष निगरानी

Image
Nisarga Hospital

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँलगायत चाडपर्वको समयमा यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा असुल्ने सवारीसाधन तथा सम्बन्धित व्यक्तिमाथि कारबाही गरिने बताएका छन्।

CP Hospital Dhangadhi

सरकारले यस वर्षको दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभाग, महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा यात्रु तथा मालवाहक सवारी सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउने तयारी गरिएको हो।

महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंका विभिन्न बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउन र सुरक्षित यात्राको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

nawajiwan

दसैँको चाप व्यवस्थापन गर्न असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।

यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ। काठमाडौं उपत्यकाका प्रमुख नाकामा यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ।

यसैगरी, यात्रुवाहक सवारीको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिँदै टेकुस्थित सवारी परीक्षण कार्यालयका प्राविधिक कर्मचारीमार्फत बिच बसपार्कमै निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने महासंघले जनाएको छ।