
पाकिस्तानले जमिनबाट प्रक्षेपण गर्न सकिने लामो दूरीको क्रुज मिसाइल ‘फतह–४’ को नयाँ संस्करण ‘फतह–४ ईआर’ को सफल परीक्षण गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार नयाँ संस्करणमा उडान तथा लक्ष्य निर्धारणका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ।

पाकिस्तानले मिसाइलको वास्तविक मारक दूरी सार्वजनिक गरेको छैन। यद्यपि रक्षा अनुसन्धानकर्ता बिलाल हुसेन खानले यसको मारक क्षमता १ हजार किलोमिटरभन्दा बढी हुन सक्ने अनुमान गरेका छन्। उनका अनुसार पाकिस्तानले यसको दूरी १ हजार २०० देखि १ हजार ५०० किलोमिटरसम्म पुर्याउने लक्ष्य राखेको हुन सक्छ। यसअघि फतह–४ को मारक दूरी करिब ७५० किलोमिटर रहेको बताइँदै आएको थियो।
फतह–४ को महत्वपूर्ण विशेषता कम उचाइमा उड्न सक्ने क्षमता हो। पाकिस्तानी वायु सेनाका अवकाशप्राप्त एयर कमोडोर ओवैस खानका अनुसार यो मिसाइल जमिनभन्दा करिब ५० मिटर माथिबाट उड्न सक्छ। कम उचाइमा उड्ने भएकाले राडारबाट पत्ता लगाउन कठिन हुने दाबी गरिएको छ। मिसाइलको नेभिगेसन प्रणाली इलेक्ट्रोनिक ‘ज्यामिङ’ का बाबजुद पनि सञ्चालन गर्न सक्ने बताइएको छ।

फतह–४ सबसोनिक क्रुज मिसाइल हो, जसको गति करिब म्याक ०.७ अर्थात् ८६४ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ। यसले करिब ३३० किलोसम्मको परम्परागत पेलोड बोक्न सक्ने दाबी गरिएको छ।

नयाँ ‘फतह–४ ईआर’ अघिल्लो संस्करणभन्दा आकारमा ठूलो देखिएको रक्षा अनुसन्धानकर्ताहरूको भनाइ छ। आकार बढाएर थप इन्धन राखी मारक दूरी विस्तार गरिएको हुन सक्ने अनुमान गरिएको छ। यसको पखेटाको संरचनामा समेत परिवर्तन गरिएको बताइएको छ।
पाकिस्तानले फतह सिरिजअन्तर्गत सन् २०२१ मा फतह–१ परीक्षण गरेको थियो भने सन् २०२४ मा फतह–२ सेनामा समावेश गरेको थियो। त्यसपछि फतह–३ समेत सार्वजनिक गरिएको थियो। फतह–४ भने लामो दूरीका जमिनस्थित रणनीतिक तथा सैन्य लक्ष्यलाई निशाना बनाउन विकास गरिएको देखिन्छ।
रक्षा विज्ञहरूका अनुसार यस्ता मिसाइलबाट विमानस्थल, सैन्य कमान्ड तथा नियन्त्रण केन्द्र, हतियार भण्डारणस्थल र अन्य सैन्य संरचनालाई लक्षित गर्न सकिन्छ। यसको ‘स्ट्यान्ड–अफ रेन्ज’ क्षमताले प्रहार गर्ने प्लेटफर्मलाई लक्ष्यको प्रत्यक्ष पहुँचभन्दा बाहिरै राखेर मिसाइल प्रहार गर्न सम्भव बनाउँछ।
भारत र पाकिस्तान दुवैले पछिल्ला वर्षमा लामो दूरीका मिसाइल तथा ड्रोन प्रणालीको विकास र परीक्षण तीव्र बनाएका छन्। त्यसैले फतह–४ ईआरको परीक्षणलाई पाकिस्तानको परम्परागत लामो दूरीको प्रहार क्षमता विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि मिसाइलको वास्तविक मारक दूरी र अन्य प्राविधिक क्षमताबारे पाकिस्तानले औपचारिक विवरण सार्वजनिक नगरेकाले उपलब्ध दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।






























